भिसा प्रक्रियालाई छरितो बनाउन के गर्दैछ अस्ट्रेलिया सरकार?

भिसा प्रोसेसिङ्गमा भइरहेको ढिलाइलाई सम्बोधन गर्नका सरकारले चालेका पछिल्ला कदमहरूका बारेमा अध्यागमन मन्त्री एन्ड्रु जाइल्सले खुलासा गरेका छन्।

provisional visa

Credit: Visa Reporter

भिसा आवेदन दिएपछि निर्णय कुर्नका लागि निकै लामो समय कुर्नु पर्ने परिस्थितिलाई सम्बोधन गर्नका लागि सरकारले आवश्यक कदम चालिरहेको अध्यागमन मन्त्री एन्ड्रु जाइल्सले बताएका छन्।

कर्मचारी थप्ने देखि विश्बजारबाट दक्ष कामदार आकर्षित गर्न आवश्यक पर्ने परिवर्तन ल्याउनका लागि सरकारको प्राथमिकता रहेको मन्त्री जाइल्सले बताए।

विश्व बजारमा प्रतिस्पर्धात्मक बन्नका लागि पनि अस्ट्रेलियाले भिसा प्रोसेसिङ्गको समयलाई छिटो बनाउनु जरुरी रहेको उनको भनाई छ।

कति भिसा आवेदन निर्णयको पखाईमा छन् त?

होर्वाटमा रहेको माइग्रेसन इन्स्टीच्यूटको राष्ट्रिय सम्मेलनमा बोल्दै अध्यागमन मन्त्री जाइल्सले हाल करिब ८८०,००० भिसा आवेदन परेको र तिनका बारेमा निर्णय हुन बाँकि रहेको बताए।

गत मे महिनामा सङ्घीय निर्वाचन हुनु अघि यो सङ्ख्या करिब १० लाख रहेको बताइन्छ।

निर्वाचनमा जित हासिल गरेसँगै प्रधानमन्त्री एन्थोनि एल्बनीजिले यसलाई 'ठुलो समस्या' भएको र यसको समाधानको उपायहरू खोजिने बताएका थिए।

टास्मेनियामा भएको सम्मेलनमा बोल्दै अध्यागमन मन्त्री जाइल्सले दक्ष कामदार भिसामा लागु रहेको न्यूनतम तलबको अवस्थामा पनि केही सुधार गरिने बताएका छन् ।

ढिला सुस्तीलाई सम्बोधन गर्न सरकारको योजना के छ त?

अस्ट्रेलियाका धेरै व्यवसायहरू काम गर्ने मानिस नपाएर समस्यामा पर्दै गरेको अवस्थामा गत जुन महिनामा सरकारले भिसाको प्रक्रियामा भइरहेका ढिलाइलाई सम्बोधन गर्नका लागि उचित कदम चाल्ने प्रतिबद्धता जनाएको थियो।

सोही महिना गृह मामिला विभागले स्रोतहरूमा वृद्धि र नयाँ कर्मचारी भर्ती गरेर भए पनि समस्याको उचित समाधान खोज्ने एसबीएससँग बताएको थियो।

गत सेप्टेम्बरमा सरकारले आयोजना गरेको रोजगारी र सिप सम्बन्धी सम्मेलनमा पनि ३३ करोड ६० लाख बजेट विनियोजन गरी ५०० जना नयाँ कर्मचारी भर्ती गरी भिसा प्रक्रियाको ढिला-सुस्तीलाई कम गर्ने योजना सार्वजनिक भएको थियो।

अध्यागमन मन्त्री जाइल्सले उक्त योजना कार्यान्वयनमा आइसकेको पुष्टि गर्दै हाल थप २६० जना कर्मचारीले काम थाली सकेको र अन्य २६० जना तालिममा रहेको बताएका छन्।

उनका अनुसार जुन महिना यता करिब २० लाख भिसा आवेदनहरू माथि निर्णय भइसकेको छ।

जसमा १३ लाख ५० हजार भन्दा बढी पर्यटक, विद्यार्थी र अस्थायी कामदारको भिसा रहेको उनले बताए।

यसबाहेक स्थायी बसोबास र दक्ष कामदारका भिसा आवेदनहरूमा पनि निर्णय भएको उनको भनाई छ।

अध्यागमन मन्त्री जाइल्सले 'नीति परिवर्तन' पछि, भिसा पक्रियालाई 'स्ट्रिमलाइन' गरेर, अस्थायी भिसा माथिका निणर्यहरु छिटो र छरितो रूपमा गरिने योजना रहेको पनि बताएका छन्।

द अस्ट्रेलियन फाइनान्सीयल रिभ्यु रिर्पोटका अनुसार जुन महिनाको एक तारिख यता, करिब २२ लाख भिसा आवेदनहरू परेका छन्।

अघिल्लो वर्ष महामारीको समयमा भने आवेदन सङ्ख्या जम्मा ४९५,००० रहेको बताइन्छ।


समस्या समाधानका लागि सरकार किन आतुर छ?

भिसा प्रक्रियामा ढिला सुस्ती हुँदा आवेदकलाई मात्र नभएर अस्ट्रेलियामा अवस्थित व्यवसायीहरूलाई समेत 'अनिश्चित' बनाइदिएको मन्त्री जाइल्सको भनाई छ।

लाखौँ मानिसहरू ब्रिजीङ्ग भिसामा रहनु 'चलाखी पूर्ण' काम नभएको जाइल्स बताउँछन्।

प्रतिस्पर्धी विश्व बजारको हिस्सा अस्ट्रेलिया पनि भएको उनको भनाई छ।

“अस्ट्रेलियालाई प्रतिस्पर्धा नगरी बस्ने छुट पनि त छैनन् नि” उनले भने।

दक्ष कामदारको अभावलाई सम्बोधन गर्न र दोस्रो विश्वयुद्ध पछि पहीलोपटक नकारात्मक भएको आप्रवासनको स्थितिलाई मध्यनजर गर्दै यस वर्षका लागि अस्ट्रेलियाले स्थायी बसोबासको सङ्ख्यालाई पनि थप गरिएको छ।

बर्सेनि १६०,००० तोकिएको यो सङ्ख्यालाई बढाएर १९५,००० पुर्‍याइएको छ।

मन्त्री जाइल्सले स्थायी बसोबासलाई सहजीकरण गर्नमा सरकार लागि परेको पनि दोहोर्‍याएका छन्।

“प्रविधि सम्बन्धी ठुला व्यवसायहरू, मेडिकल अनुसन्धान संस्थाहरू र भौतिक संरचना निर्माण गर्ने ठुला ठुला कम्पनीहरू विश्व बजारबाट कामदार भर्ती गर्न, उनीहरूलाई स्थायी बसोबासका लागि बाटो खोलिदिन असक्षम बनिरहेका छन्, हामीले विश्वबजारसँग प्रतिस्पर्धा गर्नै पर्छ,” उनले भने।

“सरकार स्थायी बसोबासको अनुमति दिँदाको फाइदा र मानिसहरूलाई अस्थायी भिसामा झुलाइ राख्नुका बेफाइदाहरूका बारेमा जानकार छ।”
Visa Application
Visa Application Source: Getty / Getty Images


आप्रवासी कामदारहरूको तलब वृद्धि कुरा चाहिँ कहाँ पुग्यो त?

लेबर सरकारले टेम्पररी स्किल्ड माइग्रेसन इन्कम थ्रेसहोल्स (टिएसएमआइटी) भनिने अस्थायी दक्ष कामदारका लागि लागु भएको न्यूनतम तलबमा पनि वृद्धि गर्ने घोषणा गरेको थियो।

हाल कुनै पनि कम्पनीले अस्थायी दक्ष कामदार भित्र्याउन न्यूनतम ५३,९०० डलर तलब दिनु पर्ने नियम छ।

यो रकम करिब एक दशक देखि बढ्न सकेको छैन।

अध्यागमन मन्त्री जाइल्स अस्ट्रेलियाका ८० प्रतिशत भन्दा बढी, फुल टाइम जागिरेको तलब यो भन्दा बढी भएको बताउँछन्।

अस्ट्रेलियाली तथ्याङ्क विभागका अनुसार पनि अस्ट्रेलियामा वयस्क फुल टाइम कामदारको औसत तलब कर सहित हप्ताको १,७६९.८० डलर रहेको छ।

वार्षिक रूपमा गणना गर्दा, यो ९२,०२९.६० डलर हुन आउँछ।

“आधुनिक श्रम बजारमा दक्ष कामदारका लागि यो तलब निकै कम हो, सरकारले यसलाई बढाउँछ,” जाइल्सले तलब वृद्धि गर्ने सङ्केत गरेता पनि कति बढ्छ यसका बारेमा भने बताएनन्।

अस्ट्रेलियन काउन्सिल अफ ट्रेड युनियनले भने टिएसएमआइटीको तलब कम्तीमा पनि ९०,००० अस्ट्रेलियन डलर पुर्‍याउनु पर्ने माग गरेको छ।

अस्ट्रेलियन चेम्बर अफ कर्मसले भने यसलाई ६०,००० डलर पुर्‍याइने बतायो।

Share
Published 25 October 2022 11:14am
Updated 25 October 2022 11:30am
Presented by Krishna Pokhrel
Source: SBS


Share this with family and friends