Analysis

कोभिड-१९ को खोप लगाउने काममा व्यापक ढिलासुस्ती, प्रधानमन्त्री भन्छन् 'हामी ट्र्याकमै छौँ'

राज्य सरकारहरूसँग दोस्रो मात्रा लगाउन खोप उपलब्ध नहुने हो कि भनेर पनि चिन्ता व्यक्त हुन थालेको छ।

Prime Minister Scott Morrison addresses the media at a press conference at Parliament House in Canberra, Monday, March 29, 2021. (AAP Image/Mick Tsikas) NO ARCHIVING

Prime Minister Scott Morrison addresses the media at Parliament House in Canberra Source: AAP

कोरोनाभाइरस खोपको आपूर्तिलाई लिएर निकै टिकाटिप्णीहरू बढिरहँदा, प्रधानमन्त्री स्कट मोरिसनले भने आफूहरू त्यसबारे 'ट्र्याकमै' रहेको बताएका हुन्।

 प्रधानमन्त्री स्कट मोरिसनले भने हालसम्म ६ लाख ५० हजार मानिसहरूले खोप लगाइसकेका र आगामी हप्ता भित्र यो सङ्ख्या १० लाख पुग्ने बताए।

"अस्ट्रेलियामा बस्ने सबैलाई अक्टोबरको अन्त्यसम्ममा खोप लगाउने हाम्रो लक्ष्य पुरा हुने बाटोमा छ," उनले भने।

खोपका लागि अन्य राष्ट्रमा निर्भर हुनु नपर्ने भएकाले आफ्नो लक्ष्य प्राप्तिमा समस्या नदेखिने मोरिसनको जिकिर छ।

तर विपक्षी दलका नेता एन्थोनी अल्बनिजीले मोरिसन सरकार प्रति कटाक्ष गर्दै मार्च मसान्तसम्ममा ४० लाख मानिसहरूलाई खोप लगाई सक्ने भन्ने वाचा पुरा हुन अब जम्मा ३५ लाख अस्ट्रेलियालीहरूलाई मात्र खोप लगाउन बाँकी रहेको बताए।

"सङ्घीय सरकारले केही कुराको त जिम्मेवारी लिइदिए हुन्थ्यो," उनले भने।
यसैबिच, एकातिर राज्य सरकारहरूसँग दोस्रो मात्रा लगाउन खोप उपलब्ध नहुने हो कि भनेर पनि चिन्ता व्यक्त हुन थालेको छ भने अर्को तर्फ सङ्घीय सरकारले राज्य सरकारहरू माथि कोभिड-१९ का खोप थुपारी रहेको आरोप लगाएको छ।

दुई प्रभावशाली सङ्घीय मन्त्रीहरूले राज्य सरकारहरूद्वारा खोप वितरण सही ढङ्गले सञ्चालन नगरेको भन्दै आलोचना गरेपछि, न्यु साउथ वेल्स तथा क्विन्सल्यान्डले भने त्यस्तो आरोप सही नभएको बताएका हुन्।

मोरिसन सरकारले जारी गरेको आँकडा अनुसार न्यु साउथ वेल्सलाई उपलब्ध गराइएको १९०,६१० खोप मात्रा मध्ये उसले केवल आधा मात्र प्रयोग गरेको छ भने क्विन्सल्यान्डले आफूसँग रहेको कुल खोपको जम्मा ५५ प्रतिशत मात्रै हालसम्म प्रयोग गरेको देखिन्छ।
तर, क्विन्सल्यान्डका डेपुटी प्रिमियर स्टिभन माइल्स भन्छन् कि मोरिसन सरकारले आफूसँग उपलब्ध खोपको बारेमा स्पष्ट रूपमा बताइदिए, खोप लगाउने काम निस्फिक्री भएर कार्यान्वयन गर्न सकिन्थ्यो।

उता, मोरिसन सरकारमा पर्यटन मन्त्री रहेका ड्यान टिहानले भने राज्य तथा प्रादेशिक सरकारहरूले खोप जम्मा पार्नुको सट्टा, उनीहरूसँग उपलब्ध खोप जोखिममा रहेका मानिसहरूलाई लगाउनु पर्ने बताएका छन्।

त्यस्तै अर्का प्रभावशाली सङ्घीय मन्त्री - डेभिड लिटलप्राउडले क्विन्सल्यान्डका अग्रपङ्क्तिमा रहेका स्वास्थ्यकर्मीहरूलाई खोप लगाउने काम तीव्रताका साथ गर्न राज्य सरकालाई सुझाव दिएसँगै - मोरिसन सरकार र राज्य सरकार बिच तनाव देखिन थालेको छ।
Gladys Berejiklian and her Health Minister Brad Hazzard.
NSW Premier Gladys Berejiklian and Health Minister Brad Hazzard. Source: AAP
न्यु साउथ वेल्सकी प्रिमियर ग्लाडिस बेरिजिक्लियनले पनि सङ्घीय सरकारको आँकडा सही नभएको बताएकी छिन् र मोरिसन सरकारको अक्टोबर मसान्तसम्म अस्ट्रेलियामा बस्ने सबै मानिसहरूलाई कोभिड-१९ खोपको पहिलो मात्रा लगाउने लक्ष पुरा गर्ने हो भने, क्यानबेराले अन्य राज्य सरकारहरूसँग हातेमालो गरेर अगाडी बढ्नुपर्ने बताएकी छिन्।

"हाम्रो सरकारले (खोप लगाउने कार्यमा) गति लिन खोजेको छ," प्रिमियर बेरिजिक्लियनले भनिन्।

बेरिजिक्लियन सरकारमा स्वास्थ्य मन्त्री रहेका ब्राड हाजार्ड भने, मोरिसन तथा उनका अन्य मन्त्रीहरूले सञ्चार माध्यमहरू मार्फत गलत जानकारी प्रस्तुत गर्नु आपत्तिजनक मान्छन् र मोरिसन सरकारले यसबारे सबै राज्य तथा प्रादेशिक सरकारहरूसँग माफी माग्नुपर्ने बताउँछन्।

"म क्षुब्ध छु," उनले भने।

"हामी युद्धको अग्रपङ्क्तिमा छौँ, न्यु साउथ वेल्स लगायत अन्य सार्वजनिक स्वास्थ्य टोलीहरू र हामी आफ्नो सार्वजनिक स्वास्थ्य अधिकारीहरूसँग मिलेर कडा परिश्रम गरिरहेकाछौं।"
क्विन्सल्यान्ड प्रिमियर अनास्टेसिया पलाशे पनि खोपको आपूर्ति र आवासीय स्याहार केन्द्रहरूमा सञ्चालित खोप कार्यक्रम बारे आफ्नो चिन्ता व्यक्त गर्छिन्।

उनी भन्छिन् कि सङ्घीय सरकारले खोप लगाउने कार्यको आँकडाका साथै हरेक राज्यमा मौजुद रहेको खोपको मात्रा दैनिक रूपमा प्रकाशित गर्नुपर्छ।

पलाशेले टिप्पणी गरेका दुवै कार्य सङ्घीय सरकार अन्तर्गत सञ्चालित कार्यक्रम हुन्।
अस्ट्रेलियाको पछिल्लो समाचार तथा अन्य सामाग्री नेपाली भाषामा सुन्न यहाँ थिच्नुहोस्

अस्ट्रेलियामा बसोबास गर्ने मानिसहरू घर बाहिर हिँड्दा, अरू मानिसहरूबाट कम्तीमा १.५ मिटर टाढा रहनुपर्दछ। भेला हुने सङ्ख्या बारे तपाईँको राज्य वा प्रदेशमा हाल कायम व्यवस्था बारे जान्न थप जानकारी यहाँ उपलब्ध छ। कोरोनाभाइरसद्वारा सङ्क्रमित भएको आशङ्का लागेमा मानिसहरूले सर्वप्रथम आफ्नो डाक्टर (जीपी)लाई वा राष्ट्रिय कोरोनाभाइरस स्वास्थ्य जानकारी हटलाइन - १८०० ०२० ०८० मा फोन गर्नुपर्छ। यदि तपाईँलाई सास फेर्न गाह्रो महसुस भयो वा आपतकालिन स्वास्थ्य समस्या उत्पन्न भएको खण्डमा ००० (ट्रिपल जिरो)मा कल गर्नुहोस्। तपाईँको राज्य वा क्षेत्रका लागि सान्दर्भिक निर्देशनहरू: न्यु साउथ वेल्स, भिक्टोरिया, क्विन्सल्याण्ड, वेस्टर्न अस्ट्रेलिया, नदर्न टेरीटरी, एसीटी, तास्मेनिया।


 


Share
Published 31 March 2021 7:58pm


Share this with family and friends