अस्ट्रेलियाको नागरिकता परीक्षामा भएका पछिल्ला फेरबदल

Special citizenship ceremony BHUTAN NEPAL

राजेशकुमार कायस्थ “राज” कायस्थ तथा श्रीमती मञ्जु श्रेष्ठ सङ्घीय सांसद मारिया भाम्भाकिनोउका साथ एक अस्ट्रेलियाली नागरिकता वितरण समारोहमा Source: Abhas Parajuli

Get the SBS Audio app

Other ways to listen

नोभेम्बर १५ देखि सुरु हुने भनिएको नयाँ व्यवस्था अन्तर्गतको अस्ट्रेलियाली नागरिकता परीक्षामा के-कस्ता बद्लाव हुँदैछन् त?


आगामी नोभेम्बर महिनादेखि लागु हुने गरी अस्ट्रेलियाली नागरिकता परीक्षामा फेरबदल हुने सङ्घीय सरकारले घोषणा गरेको छ।

यो परीक्षा एक दशक यता पहिलो पटक अद्यावधिक हुन लागेको हो।

कार्यवाहक अध्यागमन मन्त्री एलन टजले बिहीबार नागरिकता दिवसका उपलक्ष्यमा सो घोषणा गरेका हुन्।

नोभेम्बर १५ तारिख देखी प्रयोगमा आउने नयाँ व्यवस्था अन्तर्गतको नागरिकता परीक्षा अस्ट्रेलियाको मूल्य मान्यतामा केन्द्रित रहने पनि उनले सो अवसरमा जानकारी दिए।

हाम्रो अस्ट्रेलियाली मूल्य मान्यताहरू महत्त्वपूर्ण छन्," टजले भने।
"यिनले हाम्रो देशलाई बनाउन सहयोग गरेका छन् र यसै कारण यति धेरै मानिसहरू अस्ट्रेलियाको नागरिक बन्न चाहन्छन्।”

अध्यागमन मन्त्री टजका अनुसार उक्त परीक्षाले "सम्भावित नागरिकहरूलाई अस्ट्रेलियाका मूल्य मान्यताहरू जस्तै अभिव्यक्ति स्वतन्त्रता, आपसी सम्मान, अवसरको समानता, लोकतन्त्रको महत्त्व र कानुनको शासन आदि बुझ्न र ती प्रति प्रतिबद्ध हुन आवश्यक छ" भनेर निर्देशित गर्नेछ।

"नागरिकताका लागि आवेदन दिनेहरूलाई, हाम्रो मुलुकप्रति अन्तिम प्रतिबद्धता जनाउनु अघि हामी हाम्रो मूल्य मान्यतालाई अझ गहिराइसँग बुझ्न लागि आग्रह गरिरहेका छौँ।"
नयाँ परीक्षामा कस्तो प्रकारका प्रश्नहरू हुनेछन्?

अपडेट गरिएको नागरिकता परीक्षामा २० बहु-बैकल्पिक प्रश्नहरू समावेश हुनेछन्, जसमा अस्ट्रेलियाली मूल्य मान्यता सम्बन्धी पाँच नयाँ प्रश्नहरू पनि हुनेछन्।

परीक्षा पास गर्न कम्तीमा आवेदकले ती पाँचै प्रश्नहरूको सही उत्तर दिनुका साथै कुल ७५ प्रतिशतको अङ्क प्राप्त गर्नुपर्नेछ।

नागरिकताका लागि अङ्ग्रेजी भाषा वा निवास आवश्यकताहरूमा कुनै परिवर्तनहरू हुनेछैनन्।

नयाँ व्यवस्था अनुरूप सामेल गरिने प्रश्नका नमुनाहरू:

  • अस्ट्रेलियाका सबै नागरिकले राज्य तथा सङ्घीय संसद्को चुनावका लागि मतदान गर्नु किन महत्त्वपूर्ण छ?
  • के अस्ट्रेलियामा बस्ने मानिसहरूले अङ्ग्रेजी सिक्न प्रयास गर्नुपर्छ?
  • अस्ट्रेलियामा रहँदा, यदि तपाईँको अपमान गरिएको छ भने कुनै एक व्यक्ति विशेष वा समूह विरुद्ध हिंसालाई के तपाईँ प्रोत्साहित गर्न पाउनुहुन्छ?
  • के मानिसहरू एक अर्कासँग असहमत भए पनि सहेर बसिरहनु पर्छ?
  • के अस्ट्रेलियामा मानिसहरूलाई कोसँग विवाह गर्ने वा नगर्ने भनेर छान्ने स्वतन्त्रता छ?
  • अस्ट्रेलियाको सन्दर्भमा, के श्रीमानले श्रीमतीले आफ्नो आज्ञा उल्लङ्घन गरेको वा अनादर गरेको खण्डमा उनीप्रति हिंसात्मक व्यवहार गर्नु उचित हुन्छ?
  • के तपाईँ यस कुरामा सहमत हुनुहुन्छ कि पुरुष र महिलाहरूलाई उनीहरूको लक्ष्य र चासो अनुरूप अवसरको समानता प्रदान गरिनु पर्छ?
  • के अस्ट्रेलियामा मानिसहरूको वाक तथा अभिव्यक्तिको स्वतन्त्रताको सम्मान गरिनुपर्छ?
नोट: यी परीक्षामा आउने प्रश्नहरू होइनन् र साथै, यस्ता प्रश्नका उत्तरहरू बहु बैकल्पिक प्रणाली अन्तर्गत हुनेछन्।

नागरिक र स्थायी बासिन्दा बिचको भिन्नता:

Special citizenship ceremony BHUTAN NEPAL Citizenship Pledge
अस्ट्रेलियाली नागरिकताको शपथ लिंदै केही भुटानी पृष्ठभूमीका शरणार्थीहरू Source: आभास पराजुली/एसबीएस


सामान्यतया, स्थायी बासिन्दाहरू अस्ट्रेलियामा स्थायी रूपमा बस्न, काम गर्न र अध्ययन गर्न सक्दछन्, तर उनीहरू अस्ट्रेलियाली राहदानीको हकदार हुँदैनन्।

स्थायी बासिन्दाहरू अस्ट्रेलिया त्यसै प्रवेश गर्ने अधिकार हुँदैन र स्थायी निवासीको रूपमा अस्ट्रेलिया फर्कन उनीहरूको साथ वैध स्थायी भिसा हुनै पर्दछ भने नागरिकहरू आवश्यकता अनुसार अस्ट्रेलिया पुनः प्रवेश गर्न सक्छन्।

नागरिकहरूले सङ्घीय, राज्य वा प्रदेशको चुनावका अलावा संवैधानिक जनमत सङ्ग्रहमा पनि मतदान गर्न सक्दछन्।

संसदीय चुनावमा भाग लिन र अरू देशमा आफ्ना बच्चाहरूको जन्म दर्ता गर्न पनि अस्ट्रेलियाली नागरिकहरूलाई सुविधा प्राप्त हुन्छ।

आफूलाई समस्या परेको खण्डमा नागरिकहरूले अस्ट्रेलियाली दूतावास वा कूटनैतिक नियोगहरूबाट पनि सहयोग माग्न सक्छन्।

प्रत्येक वर्ष कति जना अस्ट्रेलियाका नागरिक बन्छन्?

Special citizenship ceremony BHUTAN NEPAL
Source: आभास पराजुली/एसबीएस


सन् १९४९ यता अन्य देशबाट आएका ५० लाख भन्दा पनि बढी मानिसहरूले अस्ट्रेलियाको नागरिकता लिइसकेका छन्।

विगत पाँच वर्षमा मात्र झन्डै सात लाखको हाराहारीमा अन्य देशमा जन्मेका गैर नागरिकहरूलाई अस्ट्रेलियाली नागरिकता वितरण गरिसकिएको सरकारी तथ्याङ्क छ।

यसै क्रममा कार्यक्रम वर्ष २०१९/२० मा मात्र रेकर्ड तोड २०४,००० जनाले अस्ट्रेलियाली नागरिकताको शपथ खाएका थिए भने कोरोनाभाइरस महामारी सुरु भए यता ८४,००० मानिसहरूले अनलाइन प्रविधि मार्फत अस्ट्रेलियाली नागरिकता वितरण समारोहमा भाग लिएको बताइएको छ।

Share