दुई वर्षे प्रतिबन्ध पछि नेपाल फर्कन आतुर अस्ट्रेलियाली

Australian filmmaker Kalani Gacon says he is desperate to go back to nepal.

Australian filmmaker Kalani Gacon says he is desperate to go back to Nepal. Source: Kalani Gacon

नेपालमा सरकार विरुद्धको प्रदर्शनमा सहभागी भएको भन्दै दुई बर्से प्रतिबन्ध सहित अस्ट्रेलिया फकाईएका चलचित्रकर्मी कलानी गोकानले आफु नेपाल फर्कनका लागि आतुर रहेको बताएका छन् ।


गत जुन महिनामा नेपाल सरकारले कोरोना भाइरस नियन्त्रणमा उचित कदम नचालेको भन्दै निस्किएको सरकार विरोधी जुलुसमा सहभागी भएको  अभियोगमा उनी सहित अन्य ६ जना विदेशी नागरिक पक्राउ परेका थिए ।

आफू चलचित्र निर्माता भएकाले त्यहाँका दृश्य खिच्न गएको र आफू प्रदर्शनमा सहभागी भने नभएको उनले बताए । 

सिड्नीबाट ५० किलोमीटर पर ब्लु माउन्टेन स्थायी  घर भएका  कलानीले काठमाडौँको माइतीघरमा भएको प्रदर्शनमा क्यामेरा बोकेर तस्बिर खिच्दै गर्दा आफूलाई प्रहरीले समातेको बताएका छन् ।

उनले सरकार विरोधी प्रदर्शनमा सहभागी हुन नभई त्यहाँ भइरहेको जुलुसका भिडियो र तस्बिर खिच्न पुगेको पनि बताएका छन् ।
Police sprays youth using a water canon during a protest as they demand government a better and effective response on the fight of the novel Coronavirus (COVID-19)
Nepal Police sprays youth using a water canon during a protest as they demand government a better and effective response Source: Sipa USA Prabin Ranabhat / SOPA Images/Si
सुरुमा केही समयका लागि सुरक्षाका लागि समातेको बताए पनि आफूहरूलाई तिन दिन सम्म प्रहरीले थुनेको उनले एस बि एस नेपाली सँगको कुराकानीमा बताए ।

उक्त समयको घटनालाई सम्झिँदै भन्छन् “एक छिन सुरक्षाका लागि राख्छु भनेको प्रहरीले तिन दिन सम्म थुन्यो ।”

तिन दिन सम्म नेपालको जेलमा बिताएका गोकानीलाई १ सय २० डलर धरौटी तिरे पश्चात् छाडिएको थियो ।

पछि सरकारले निर्णय गरी उनी सहित अन्य चार जनालाई दुई वर्ष सम्म नेपाल प्रवेशमा रोक लगाउने गरी फिर्ता पठाएको थियो ।

सन् २०१५ मा नेपालमा गएको भूकम्पका दौरान चलचित्र निर्माण गर्न नेपाल पुगेका अस्ट्रेलियाली युवा चलचित्र निर्माता कलानी पाँच वर्ष देखि नेपालमै बस्दै आएका थिए ।
kalani gacon,film maker
kalani gacon celebrating tihar festival in nepal. Source: Supplied
“मेरो सपना,मेरो काम,मेरा साथीहरू सबै नेपालमै छन् म कसरी फर्कने, एक छिन त मलाई रुन मन लाग्यो । ” कलानीले सरकारी निर्णय पछि फर्कन परेकोमा दुख व्यक्त गरे ।

यद्यपि सरकारको निर्णय आफ्ना लागी स्वीकार्य भएको र दुई वर्षको समयमा नयाँ कुरा सिकेर आफ्नो परिवार सँग समय बिताउने पनि उनले बताए ।

“अस्ट्रेलियामा रहेका परिवार सँग समय बिताउने मौका मिल्यो,नयाँ कुरा सिक्नका लागि,नयाँ अनुभव गर्नमा यो समय बिताउँछु ।” उनले भने ।

कलानीको नेपाल सम्बन्ध

२०७२ सालमा भूकम्पका बेला भारत हदै नेपाल पुगेका कलानी त्यस पश्चात् त्यही बस्न थालेका हुन् ।

पाँच बर्से नेपाल बसाइँका क्रममा उनी नेपाली भाषा प्रस्ट सँग बोल्न सक्ने बनेका छन् ।

“मैले एकचोटी पनि सोचेको थिएन कि म यहाँ बस्छु भनेर, म त्यहाँको जीवनमा यति धेरै संलग्न भए यति गहिराइमा पुगे कि म फर्कनै सकिन् ।” उनले भने ।

नेपालका मानिसहरूको समुदाय,संस्कृति र मानवता प्रतिको माया र भाव यति गहिरो लाग्यो उनले कि पाँच वर्ष नेपालमा बितेको पत्तै पाएनन् ।
kalani gacon,while shooting in nepal.
kalani gacon,while shooting in nepal. Source: Supplied
“म सानो छदा विश्वको मानचित्र हेर्दा मैले कहिले सोचेको थिएन कि म नेपालमा गएर बस्नेछु” उनले हाँस्दै भने ।

चलचित्र निर्माण गर्ने क्रममा उनले नुवाकोटको तामाङ बस्तीमा सानो घर पनि निमार्ण गरेका छन् । उनी त्यहीको एक तामाङ परिवार सँग बस्दै आइरहेका थिए ।

सिनेमा देखि सहयोग सम्म

कलानी ९ वर्ष देखि चलचित्रमा काम गर्न थालेका हुन् । चलचित्र निर्माणकै क्रममा उनी विभिन्न मुलुकमा पुगेका छन् ।

सन् २०१५ को अप्रिलमा करिब ९ हजार मानिसको ज्यान जाने गरी गएको भूकम्पमा पश्चात् त्यहाँ पुगे पछि उनले नेपालमा मानिसहरूको कथाहरूमा चलचित्र निर्माण गर्न सुरु गरे ।

भूकम्पको अवस्थालाई चित्रण गदै उनले “भूकम्प,स्टोरी अप नेपालस् ग्रेट अर्थक्वेक” नाम चलचित्र बनाए ।
kalani gacon,while shooting in nepal.
kalani gacon,while shooting in nepal. Source: Supplied
नेपालमा बसेको केही समय पश्चात् परिवारलाई आर्थिक रूपमा उकास्ने उद्देश्यले विदेशमा जाने युवाहरूको कथामा उनले “जर्नी टु दी सेन्टर अफ हार्ट” नामक अर्को चलचित्र निर्माण गरे ।

पछिल्लो समय पक्राउ परेर अस्ट्रेलिया फर्काइने क्रममा भने उनी नेपालमा लकडाउनले सामान्य काम गरी खाने मानिसहरूको कथामा चलचित्र निर्माण गदै थिए ।

नेपालमा पाँच बर्से बसाइँका दौरान चलचित्र निर्माण गर्ने मात्र होइन सामाजिक काममा पनि सक्रिय भूमिका निर्वाह गरेको कलानी बताउँछन् ।
“पछिल्लो समय १ सय २० दिन सम्म लकडाउनका कारण भोक भोकै रहेका मानिसहरूलाई खाना खुवाउने काममा उनी सक्रिय रहे।"

यस अघि पनि सामाजिक काममा सक्रिय रहेको उनी बताउँछन् ।

चलचित्र निर्माण गरेरै सामाजिक कामका लागि पैसा जुट्छ त भन्ने प्रश्नमा भने उनले अनलाइन मार्फत विश्वभरका मानिसले आफूलाई सहयोग गर्ने बताउँछन् ।

मानवताका हिसावले नेपाल बिकसित

अस्ट्रेलियाका ठुला-ठुला घर,सुख सुविधा हेर्दा अस्ट्रेलिया उनलाई विकास भएको देश लाग्छ तर मानवता र सम्बन्धका हिसाबले नेपाल अस्ट्रेलिया भन्दा बिकसित रहेको उनले पाएको बताउँछन् ।

“अस्ट्रेलिया यस्तो राम्रो, पूर्वाधार पनि राम्रो छ,ट्रेन पनि समयमै आउछ ,शिक्षा पनि निकै राम्रो छ, तर सांस्कृतिक रूपमा, मानवताको हिसाबले,समाजका हिसाबले अस्ट्रेलिया विकास भएको छैन , त्यस अर्थमा नेपालमा धेरै विकास भएको छ ।”

जेल देखि देशनिकाला सम्म

लकडाउन भएदेखि नै उनी नेपालमा कोरानाका कारण अप्ठेरोमा परेका मानिसहरूका बारेमा डकुमेन्ट्री फिल्म निर्माण गर्न र उनीहरूलाई खाना खान सहयोग गर्न व्यस्त बनेका थिए ।

मानिसहरू कोरोनामा कसरी बाच्छन्। सडकमा बसेका भारी बोकेर जीवन धान्नेहरूले कसरी जीवन धानिरहेका छन् भन्ने बारेमा चलचित्र निर्माणकै क्रममा थिए उनी ।

यसै क्रममा माइतीघरमा भएको एउटा आन्दोलन खिच्न पुगेका कलानी प्रहरीले एक्कासि पक्रिए पछि अन्योलमा परे ।
kalani gacon,film maker
kalani gacon,film maker Source: Supplied
प्रहरीले किन समातेको हो भन्ने कुरा पनि राम्ररी बताएन । तिन दिनमा जेलमा बिताउँदाको समयका सम्झँदै भन्छन् “उडुसले टोके पछि रात भरी सुतिन्, प्रहरी दाईहरु सँग रातभरि कुरा गरेर समय बिताए । ”

जेलमा आफू सँग कोठामा थुनिएका मानिसहरूलाई उनले साथी पनि बनाउन भ्याए ।

जेल बाट छुटेको केही दिनमा उनी प्रहरी कार्यालयमा गए र प्रहरी सँग चिया पिएर फर्किए ।

सरकारले उनी सँगै पक्राउ परेका अन्य पाँच जना मध्ये चार जनालाई नेपालको अन्तरीक मामलामा सामेल भएको भन्दै दुई वर्ष सम्म नेपाल आउन नपाउने गरी देश निकाला गरिदियो ।


 

 


Share