चीनले दिएको आठ लाख खोप नेपाल आइपुग्यो र खोप लगाएका पर्यटक अब क्वारेनटिन बस्नु नपर्ने: गत सात दिन नेपालमा

Chinese ambassador Hou Yanqi handing over 8 lakh doses of  doses of COVID-19 vaccines to Nepal on Monday.

Chinese ambassador Hou Yanqi handing over 8 lakh doses of doses of COVID-19 vaccines to Nepali health minister Hridayesh Tripathi in Kathmandu. Source: RSS

Get the SBS Audio app

Other ways to listen

चीन सरकारले अनुदानमा दिएको आठ लाख डोज खोप नेपाल आइपुगेको छ भने खोप लगाइसकेका पर्यटक अब नेपाल आउँदा क्वारेनटिनमा बस्नु नपर्ने भएको छ । यस लगायतका गत सात दिनका नेपालका प्रमुख समाचार ।


कोरोना

चीन सरकारले नेपाललाई अनुदानमा दिएको आठ लाख डोज खोप सोमबार नेपाल आईपुगेको छ, जुन चिनीया राजदूत होउ याङ्छीले नेपाल सरकारलाई हस्तान्तरण गरेकी छिन्।

यस खोपको प्रयोगका बारेमा स्वास्थ्य मन्त्रालयका प्रवक्ता जागेश्वर गौतम भन्छन्,

"त्यो खोप ६० वर्ष मुनिकालाई लगाउने हो,खोपमा नै त्यो कुरा उल्लेख छ,एक दुई दिनमा हामी कसलाई लगाउने भन्ने पनि निधो गर्छौं र अहिले सम्म कति कुरा थाहा छ भने हामीले यो खोप अस्पतालमा राखेर लगाउँछौं,कोभिशिल्ड खोप पनि शुरुमा स्वास्थ्यकर्मी र सफाईकर्मीलाई लगाउँदा हामीले अस्पतालमा लगाएका थियौं,हामीलाई अलि कन्फिडेन्स भएपछि हामी हेल्थपोस्ट सम्म गएका थियौं।"

यसै गरि विश्व बैकले पनि खोप किन्नका लागि ८ अर्ब ७० करोड ऋण दिएर यस समयमा नेपाललाई सहयोग गर्ने भएको छ । 

यस भन्दा अघि भारत सरकारले नेपाललाई २० लाख डोज खोप दिएको थियो, जुन नेपालले पहिलो प्राथमिकताका स्वास्थ्यकर्मी लगायतका पेशाकर्मी र ६५ वर्ष माथिका नागरिकका लागि प्रयोग गरिसकेको छ।

नेपालले किनेका थप डोज खोप नआईपुगेकाले हाललाई खोप अभियान स्थगित गरिएको छ।

यस हप्ता नेपालमा कोरोना संक्रमित मानिसको सङ्ख्या २ लाख ७७ हजार भन्दा बढी छ भने निको हुनेको दर ९८ प्रतिशत छ।

प्रतिदिन कोरोना संक्रमित हुने मानिसको संख्या १०० भन्दा बढी छ र सानो दरमा बढिरहेको छ।

 

राजनीति

संसदको प्रमुख प्रतिपक्षी दल नेपाली काङ्ग्रेसले प्रधानमन्त्री केपी शर्मा ओलीको राजिनामा माग गर्ने निर्णय गरेको छ।

शुक्रबार सानेपा कार्यालयमा बसेको पार्टीको बैठकले त्यो निर्णय गर्दै त्यसपछिको परिस्थितिमा सरकारको नेतृत्व गर्ने कोशिश गर्ने समेत बताएको छ।

सत्तारुढ दल एमाले भित्रको फूट कायमै रहेको बेलामा नेपाली काङ्ग्रेसले संसदमा अविश्वासको प्रस्ताव प्रस्तुत गरेमा सरकारले विश्वास गुमाउने ठुलो सम्भावना देखिन्छ।

ओलीको विरोध गरिरहेका दुई शीर्ष नेता माधव नेपाल र झलनाथ खनालले पार्टीभित्र समानान्तर संरचना गठन गरिसकेका छन् र जिल्ला लगायत सबै स्तरमा यो नयाँ संरचना विस्तार गर्ने निर्णय गरेका छन्।

तर पनि ती समूहले र सरकारमा सम्मिलित माओवादी पार्टीले औपचारिक रुपमा सरकारको समर्थन फिर्ता लिएका छैनन्, र प्रधानमन्त्री ओलीले उनीहरुलाई त्यसो गर्न चुनौती दिएका छन्।
Nepal's Prime Minister KP Sharma Oli giving a speech during the country's Constitution Day 2020
Nepal's Prime Minister KP Sharma Oli giving a speech during the country's Constitution Day 2020 Source: RSS
"मागे पिच्छे म कसरी दिन सक्छु? एक दिन एउटा राजीनामा हुन्छ र? एउटाले माग्दैन, दुईटाले माग्दैन।

एकदिन माग्दैन, दुई दिन माग्दैन। माग्या छ, माग्या छ। ए बाबा हटाउ न त। समर्थन फिर्ता लिइदेउ भन्छु, त्यो पनि छैन। अनि राजीनामा माग्छन्। राजीनामा त आईहाल्छ नि, समर्थन फिर्ता गर न।"

अध्यक्ष केपी ओलीको समूहले दुई नेताहरु माधव नेपाल र भीम रावललाई पहिले स्पष्टिकरण सोधेर त्यसपछि स्पष्टिकरण चित्बुझ्दो नभएको भन्दै पार्टीको साधारण सदस्यबाट छ महिनाका लागि निलम्बित गरेको छ।

 

वायु प्रदुषण

वायु प्रदुषणको विरोध गर्दै प्रदर्शन गरेका केही युवालाई प्रहरीले पक्राउ गरेको छ।

यस हप्ता काठमाण्डु संसारकै सबभन्दा प्रदुषित शहर बनेपछि सरकारलाई वायु प्रदुषण विरुद्ध ठोस कदम चाल्नका निम्ति दवाव दिन केही युवा शुक्रबार धर्ना बसेका थिए।

देशभर लागेका ५०० भन्दा बढी डढेलो लगायतका कारणले गर्दा गत शुक्रबार काठमाण्डुको वायु गुणस्तर सुचकांक ४७० पुगेको थियो, जबकी विश्व स्वास्थ्य संगठनले ३०० भन्दा माथिको वायु गुणस्तर सुचकांकलाई घातक मानेको छ।
बुधबार राती पानी परेपछि मौसममा सुधार भएर वायु गुणस्तर सुचकांक १०० भन्दा मुनि पुगेको छ। तर नेपालमा गत जनवरीमा पनि यो सुचकांक ६०० पुगेको थियो, र यो समस्या बारम्बार दोहोरिएपछि थुप्रै युवा र वातावरणविद चिन्तित बनेका छन्।

धर्ना बसेका युवालाई पक्राउ गरेको घटनाको सामाजिक सञ्जालमा विरोध भइरहेको छ।

पर्यटन

नेपालले कोरोना विरुद्धका दुई डोज खोप लगाइसकेका पर्यटकका लागि क्वारेण्टिनको नियम हटाएको छ।

यो भन्दा अघि नेपाल आउने विदेशी नागरिकले दुई हप्ता क्वारेण्टिनमा बसेर मात्र अन्यत्र घुम्न जान पाउने नियम लागु गरिएको थियो।

कोरोनाको प्रकोपका कारण सबभन्दा बढी थलिएको पर्यटन क्षेत्रलाई उकास्नका लागि मन्त्रीपरिषदले गत मार्च १९ मा यस्तो निर्णय गरेको हो।

यसका साथै यो वसन्त याममा सरकारले सगरमाथा आरोहणका लागि पनि अनुमति दिएको छ। गत वर्ष कोरोनाको प्रकोपका कारण सरकारले पर्वतारोहणका गतिविधिमाथि पनि रोक लगाएको थियो, र थुप्रै वर्षपछि सगरमाथा खाली भएको थियो।

यस वर्ष साबिकको भन्दा कम भए पनि थुप्रै आरोही सगरमाथा आरोहण गर्न आईपुगेका छन्।

 

बर्मा

बर्मामा भएको सैनिक कू र त्यस विरुद्धको आन्दोलनको दमनको विरोधमा काठमाण्डुमा मानिसहरुले संयुक्त राष्ट्रसंघको कार्यालय अगाडि प्रदर्शन गरेका छन्।

बर्मामा फेब्रुअरी १ मा सैनिक कू भएपछि त्यसको विरोध गर्ने थुप्रै सर्वसाधारणको ज्यान गएको छ, र त्यहाँ भएका नेपाली नागरिकका आफन्तहरु चिन्तित बनेका छन।

यसका साथै बर्मामा लाखौंको संख्यामा नेपालीभाषी समुदाय केही पुस्तादेखि बसोबास गरिरहेका छन्, र उनीहरुलाई पनि यो सैनिक कूले प्रभाव पारिरहेको छ।

नेपालमा यो भन्दा अगाडि पनि बृहत नागरिक आन्दोलन जस्ता समूहले बर्माको सैनिक कूको विरोध गर्दे र त्यसविरुद्धको आन्दोलनप्रति ऐक्यबद्धता जनाउँदै प्रदर्शन गरेका थिए। 

देश विदेशमा रहेका नेपाली भाषी बर्मेलीले पनि बर्माको सैनिक कूको विरोधमा प्रदर्शन गरिरहेका छन्।

होली

यस हप्ता आईतबार र सोमबार परेको होली पर्व नेपालमा उल्लासपूर्ण रुपमा मनाइएको छ।

गत वर्ष यसै समयमा कोरोनाको महामारीको शुरुवात भएपछि होली उल्लासहीन बनेको थियो।

यस वर्ष कोरोना संक्रमित मानिसको संख्या फेरी बढिरहेको सन्दर्भमा सरकारले होलीमा सार्वजनिक स्थलमा नजान र धेरै भीडभाड नगर्न आग्रह गरेको थियो।
People gather to celebrate holi festival in nepal.
People gather to celebrate holi festival in nepal. Source: RSS
त्यो आग्रहलाई बेवास्ता गर्दै हजारौं मानिस काठमाण्डुको वसन्तपुर लगायतका सार्वजनिक स्थलमा जम्मा भएर होली खेलेका छन्।

यो भीडभाडले कोरोनाको संक्रमण फेरी फैलाउने हो कि भन्ने डर पैदा भएको छ। वसन्त ऋतुको आगमनमा हिन्दु धर्मावलम्बीले मनाउने होली पर्वमा मानिसहरुले एक आपसमा रंग दलेर र पानी छ्यापेर मनाउने गर्दछन्।

सेवा भट्टराई, काठमाण्डु।


Share