अस्ट्रेलिया बुझ्नुहोस्: विरोध प्रदर्शन गर्ने निहित अधिकार

Students at a protest in Sydney

Nepali international students at a protest in Sydney Source: SBS / SBS Nepali

लगभग हरेक हप्ता अस्ट्रेलियनहरू आफूलाई प्रत्यक्ष वा भावनात्मक रूपमा प्रभाव पार्ने महत्त्वपूर्ण मुद्दाहरूको विरोधमा आवाज उठाउन सडकमा उत्रिन्छन्। विरोध प्रदर्शन गर्नु स्वाभाविक रूपमा गैर कानुनी त होइन, तर प्रदर्शनकारीहरूले कहिलेकाहीँ अनुचित व्यवहार गरेर कानूनको सीमालाई नाघ्न सक्छन्। त्यसैले विरोध प्रदर्शन गर्दा समस्यामा पर्न सक्ने सम्भावना तपाईँको स्थान र व्यवहारमा निर्भर हुन्छ।


अस्ट्रेलियनहरूसँग विरोध गर्ने अधिकार भएको व्यापक रूपमा विश्वास गरिन्छ, तर संविधानमा भने यो अधिकार स्पष्ट रूपमा उल्लेख गरिएको छैन।

ल्यूक म्याक्नमारा युनिभर्सिटी अफ न्यु साउथ वेल्समा फ्याकल्टी अफ लअ एन्ड जस्टिसका प्राध्यापक हुन्।

संविधान अन्तर्गत राजनीतिक विषयहरूमा कुरा गर्ने अधिकार हामीसँग भएको उनी बताउँछन् ।

"भिक्टोरिया, एसीटी र क्वीन्सल्यान्ड जस्ता मानव अधिकार ऐनहरू भएका थोरै राज्य तथा प्रदेशमा शान्तिपूर्ण भेला गर्ने अधिकारलाई मान्यता दिइएको उदाहरणहरू छन्।"
तर देशका धेरैजसो भागहरू र राष्ट्रिय रूपमा नै चाहिँ विरोध गर्ने अधिकार छ भनी कहीँ उल्लेख गरिएको छैन। र यस्तो हुँदा हुँदै पनि विरोध गर्ने अधिकार छ भन्ने सोच सामान्य कानूनी परम्परामा अँगालिएको छ।
ल्यूक म्याक्नमारा
अस्ट्रेलियाभरि विरोध गर्ने सम्बन्धी कानूनहरू भिन्न छन्, जुन कतिपय अवस्थामा अस्पष्ट पनि हुन सक्छन्।

क्वीन्सल्यान्ड र वेस्टर्न अस्ट्रेलियामा खानी उद्योगलाई लिएर धेरै सार्वजनिक आलोचना हुने भएकाले यी राज्यहरूमा कडा विरोध विरुद्धका कानूनहरू छन्।

तपाईँमाथि विरोध प्रदर्शनमा भाग लिएकै कारणले मुद्दा लगाउन सकिँदैन; तर विरोध गर्दा अनुचित व्यवहारको लागि भने अभियोग लाग्न सक्छ।
Australia Explained - The Right to Protest
TOPSHOT - Protestors march on the streets of Sydney's central business district against US President Donald Trump's travel ban policy on February 4, 2017. Source: AFP / SAEED KHAN/AFP via Getty Images

कस्ता व्यवहारलाई अस्वीकार्य मानिन्छ त?

असामाजिक व्यवहार जस्तै अरूलाई हानी पुर्‍याउने वा सम्पत्तिहरूमा क्षति पुर्‍याउने कुराहरू प्रदर्शनकारीहरूको अस्वीकार्य व्यवहार भित्र पर्छन् ।

र कुनै पनि व्यवहार स्वीकार्य छ कि छैन भन्ने कुराको निर्णय परिस्थितिलाई हेरेर फरक हुन सक्ने म्याक्नमारा बताउँछन्।

"अरूलाई हानि गर्ने, सम्पत्ति हानि गर्ने अस्वीकार्य व्यवहार हुन्। के कस्ता कुराहरू स्वीकार्य छन् भन्ने चाहिँ कुन स्तरको हो भन्ने कुरामा भर पर्छ।”

उनी भन्छन् यस्ता व्यवहारको मूल्याङ्कन प्रहरीले विरोध प्रदर्शन गरिएको स्थलमा नै गर्छन्।

तपाईँले विरोध प्रदर्शनमा के-कस्ता वस्तु लग्नु हुन्छ भन्ने कुरा पनि स्वीकार्य व्यवहारको मूल्याङ्कन गर्दा महत्त्वपूर्ण हुन्छ।

एम्नेस्टी इन्टरनेशनल अभियानकर्ता निकिता ह्वाइट प्रहरीले जाँच गर्दा अरूलाई हानि पुऱ्याउन सक्ने चीज तपाईँसँग नरहेको सुनिश्चित गर्नु पर्ने बताउँछिन्

"ब्यानर र पोस्टर लिएर विरोध गर्न सकिन्छ। तपाईँले विरोध सम्बन्धी कलाकृतिहरू पनि लग्न सक्नुहुन्छ। तर हतियार मानिन सकिने कुनै पनि चीजलाई लिएर सावधान हुनु पर्छ।”

प्रदर्शनका क्रममा हुने अवरोध

अधिकांश मानिसहरूले सडक मार्चको क्रममा आफ्नो दिनचर्यामा अवरोध अनुभव गरेका हुन्छन्।

हालका वर्षहरूमा सरकारहरू र केही अन्य सरोकारवालाहरू प्रदर्शनकारीहरूले अवरोध पुर्‍याउनु अस्वीकार्य भएको भन्दै चिढिएको देखिने बताउँदै प्रोफेसर म्याक्नमारा भन्छन् , यदि हामी विरोध गर्ने अधिकारमा प्रतिबद्ध छौँ भने, हामीले हाम्रो जीवनमा केही अवरोधहरू स्वीकार गर्न तयार हुनुपर्छ।
विरोधले स्वाभाविक रूपमा अवरोध निम्त्याउँछ।
ल्यूक म्याक्नमारा
"तर यदि तपाईँले यसको बारेमा सोच्नुभयो भने, सार्वजनिक विरोध प्रदर्शनको मुख्य उद्देश्य भनेकै मानिसहरूको ध्यान खिच्नु हो। साथै उनीहरूलाई रोकेर, आफ्नो सन्देशलाई सुन्न र त्यसबारे सोच्न प्रेरित गर्नु हो", म्याक्नमारा बताउँछन्।

तर पनि अस्ट्रेलियाभरि नै, महत्त्वपूर्ण व्यवसायको ठाउँहरू जस्तै प्रमुख बन्दरगाह, सडक वा रुखहरू काटेर काठ बनाइने क्षेत्रमा विरोध गर्नु वा मानिसहरूलाई काममा जानबाट रोक्नु प्रदर्शन विरुद्धको कानून वा ‘एन्टी प्रोटेस्ट ल’ भित्र पर्छ।

यो सरकारहरूमाथि दबाब सिर्जना गर्ने मुख्य बिन्दुहरू मध्ये पर्ने भएकाले यसमा नयाँ प्रतिबन्धहरू लागू हुन सक्छ।
Australia Explained - The Right to Protest
MELBOURNE, AUSTRALIA - AUGUST 21: A man holds a banner reading "Freedom" atop a tram stop during an anti-lockdown protest on August 21, 2021 in Melbourne, Australia. Credit: Getty Images
स्यरा मोल्ड्ज युनिभर्सिटी अफ साउथ अस्ट्रेलियामा लअकी असोसिएट प्रोफेसर हुन्।

उनी भन्छिन् कि सबैभन्दा खराब अवस्थामा तपाईँले जेल सहित गम्भीर सजाय भोग्नु पर्ने हुन सक्छ।

"तपाईँले अरू मानिसहरूलाई कुनै पनि प्रकारको कठिनाइ दिने, मानिसहरूलाई कामको लागि ढिलो बनाउने वा साँच्चै नराम्रो रूपमा बाधा पुग्ने उद्देश्य राख्नुपर्दैन, तपाईंले केवल विरोध जनाएमा पनि पक्राउ पर्न सक्नुहुन्छ। तर व्यवहारमा यी कानूनहरूको खासै प्रयोग भएको छैन।"

"यी अधिक गम्भीर मामिलाहरूमा मात्र प्रयोग गरिन्छन्, उदाहरणका लागि क्वीन्सल्याण्डमा, मानिसहरूले आफूलाई पुल र सडकमा बाँध्दा उनीहरूमाथि मुद्दा चलाइएका घटनाहरू छन्", मोल्ड्ज भन्छिन्।

अहिले साउथ अस्ट्रेलियाले सार्वजनिक स्थानमा अवरोध गरेमा सबैभन्दा कडा जरिवाना लगाउँछ, अपराधीहरूलाई तीन महिनाको जेल सजाय हुन्छ।

अवरोधका अतिरिक्त, अस्ट्रेलियामा सामान्यतया लाग्ने आरोपहरूमा अनुमति बिना प्रवेश गर्ने वा 'ट्रेसपासिङ', अर्कै भेषमा विरोध गर्ने, आपत्कालीन कामदारलाई अवरोध गर्ने, धम्की दिने वा आपत्तिजनक भाषा प्रयोग गर्ने र सम्पत्तिलाई क्षति पुर्‍याउने पनि समावेश छन्।

तर वास्तविकतामा भने एकदमै अनुचित व्यवहार प्रदर्शन गर्नेहरू मात्र गिरफ्तार हुने ह्वाइट बताउँछिन्।

"पक्राउ परेका अधिकांश व्यक्तिहरू नागरिक अवज्ञामा संलग्न भएका हुन्छन् जहाँ उनीहरूले विरोधको नाममा जानाजानी कानून तोडेका हुन्छन्। तिनीहरूले आफूलाई भवन भित्र थुन्ने कार्य गर्न सक्छन्, पुलबाट ब्यानर फहराउन सक्छन् वा हिंसात्मक नभए पनि विरोधको रूपमा कानून तोडिरहेका हुन्छन्।"

कानूनमा ल्याइएको कडाई

हालका वर्षहरूमा एन्टी प्रोटेस्ट कानूनको सुदृढीकरणले धेरै अस्ट्रेलियनहरूको विरोध प्रतिको धारणा परिवर्तन भएको छ।

ह्युमन राइट्स लअ सेन्टरले गत २० वर्षमा ३४ वटा विरोध विधेयक वा कानून परिवर्तन गर्ने प्रयास भएको रिपोर्ट गरेको छ, जसमध्ये २६ पारित भएको डा मोल्ड्ज बताउँछिन्।

"पारित भएका ती २६ वटा कानूनहरूमध्ये अधिकांशले देशभर दण्ड बढाइएर विरोध प्रदर्शन गर्न गाह्रो बनाएको छ। विरोध प्रदर्शनका पक्षहरूलाई अपराधीकरण गर्ने प्रवृत्ति भएको जस्तो मलाई लाग्छ। हामीले के देखेका छौँ भने अस्ट्रेलियाका अधिकांश स्थानहरूमा अपराधीकरण गरिएका व्यवहारहरू कुनै विशेष स्थानमा हुन्छन्।"

त्यसैले अस्ट्रेलियामा विरोध प्रदर्शन गर्नुको एक महत्त्वपूर्ण हिस्सामा औपचारिक स्वीकृति प्राप्त गर्नु पनि पर्छ।

कसरी लिने त स्वीकृति?

Australia Explained - The Right to Protest
SYDNEY, AUSTRALIA - SEPTEMBER 20: Young girls protest in The Domain ahead of a climate strike rally on September 20, 2019 in Sydney, Australia. Credit: Jenny Evans/Getty Images
यदि तपाईँ सडक प्रदर्शन जस्ता ठुलो सार्वजनिक भेलाको योजना बनाउँदै हुनुहुन्छ भने, तपाईँले अनुमतिको लागि प्रहरी वा आफ्नो स्थानीय सरकारलाई पत्र लेख्न सक्नुहुन्छ।

धेरै ठाउँहरूले सजिलै स्वीकृति दिने प्रोफेसर म्याक्नमारा बताउँछन्।

"यदि तपाईँको प्रदर्शन स्वीकृत छ भने, तपाईँ प्रहरीले विरोध प्रदर्शन बन्द गर्न प्रयोग गर्न सक्ने केही शक्तिहरूबाट मुक्त हुनुहुन्छ। उदाहरणका लागि, सडकमा सवारीहरूलाई अवरोध पुर्‍याउने जस्ता विरोध प्रदर्शन अधिकृत हुन सक्छन् यदि तोकिएकै सडकहरू अवरुद्ध गरिएको छ, वा प्रदर्शनको निरीक्षण गरिएको छ भने।"

विरोध प्रदर्शनलाई आधिकारिकता दिइएको छ वा त्यो प्रदर्शनलाई 'अथोराइज्ड प्रोटेस्ट' भनेर वर्गीकृत गरिएको छ भने तपाईँलाई पुलिसले हस्तक्षेप गर्दैन वा भिडलाई तितरबितर पार्दैन भन्ने केही हदसम्म आत्मविश्वास हुन्छ।

यस्ता प्रदर्शनहरूमा प्रहरीले पनि भाग लिन सक्छन्।

"यदि तपाईँ अस्ट्रेलियामा विरोध प्रदर्शनमा जाँदै हुनुहुन्छ भने, त्यसको सुरक्षा प्रहरीले गर्नेछ। विरोधमा उनीहरूको भूमिका नै यही हो - तपाईँलाई विरोध प्रदर्शन गर्न मद्दत गर्नु र तपाईँलाई विरोध गर्न अनुमति दिनु। र यदि केही गलत भई हाल्यो भने वकिललाई सम्पर्क गर्नुहोस्। उनीहरूले तपाईँलाई लागेको अभियोगको बारे बताउने र के गर्न सकिन्छ भन्ने बारे सल्लाह दिन सक्छन्", निकिता ह्वाइट भन्छिन्।
Australia Explained - The Right to Protest
SYDNEY, AUSTRALIA - MAY 06: Climate activists march through the CBD during the 'School Strike 4 Climate' on May 06, 2022 in Sydney, Australia. Credit: Lisa Maree Williams/Getty Images

पक्राउ परिहाले के गर्ने?

तपाईँलाई हिरासतमा लिइएको सम्भावित घटनामा, सामुदायिक कानूनी सेवाहरू वा कम्युनिटी लिगल सेन्टरहरूले तपाईँको अधिकारको सम्मान गरिएको छ कि छैन भन्ने सुनिश्चित गर्छन्।

अधिकांश विरोध-सम्बन्धित आरोपहरूमा जेलको सट्टा जरिवानाका सजाय हुन्छन्। डा मोल्ड्जका अनुसार यी सामान्यतया केही सय डलर भन्दा बढी हुँदैनन्।
हामी सौभाग्यवश यस्तो समाजमा बस्छौँ जहाँ प्रहरी, अभियोजक र न्यायाधीशहरूले अझै पनि यो स्वतन्त्रताको कदर गर्छन् र त्यसैले धेरै गम्भीर दण्डहरू लागू गरेका छैनन्। यदि तपाईँसँग जानकारीको पहुँच छ भने, तपाईँले आफू माथि कुनै अपराधको आरोप नलगाई एक विरोध प्रदर्शन गर्न सक्नुहुन्छ। मानिसहरूलाई ती प्रक्रियाहरूको बारेमा थाहा नभएर मात्रै तिनीहरू कानूनी आरोपको जोखिममा पर्न सक्छन्।
स्यरा मोल्ड्ज

आफ्ना अधिकारहरूबारे जान्नुहोस्

ह्युमन राइट्स लअ सेन्टर, एम्नेस्टी इन्टरनेशनल र एनएसडब्लु काउन्सिल फर सिभिल लिबर्टीज जस्ता सङ्गठनहरूले अस्ट्रेलियाभरि विरोध प्रदर्शन र त्यस सम्बन्धी कानुनको बारेमा सही जानकारी प्रदान गर्छन्।

Share