नेपाल: वि.स. २०७८ को वैशाखदेखि चैत्रसम्म फर्केर हेर्दा

A compilation of some news stories from Nepal during 2078 B.S.

A compilation of some news stories from Nepal during 2078 B.S. Source: Compiled from various sources

Get the SBS Audio app

Other ways to listen

जनगणना, प्राकृतिक प्रकोप, कोरोना र राजनीति - गत १२ महिनामा नेपालमा के-के मुख्य घटना घटे त?


वैशाख

  • यो वर्षको सुरुवात ६ जना नेपाली महिलाले पहिलो पटक ८०९१ मिटर अग्लो अन्नपूर्ण हिमालको सफल आरोहण गरेर कीर्तिमान बनाएर गरेका थिए। फोटो पत्रकार पूर्णिमा श्रेष्ठले भनिन्, "दुइटा हिमालमा नेपाली महिला पुगेका छैनन्, अन्नपूर्ण र धौलागिरि…..अनि त्यसपछि दुई वर्ष सम्म मैले अन्नपूर्ण बाहेक केही पनि देखिन। मान्छेमा सपना भन्ने कुरा त्यस्तो हुँदो रहेछ। " साथै यो महिनामा २५ औँ पटक सगरमाथाको चुचुरोमा पुगेर कामीरिता शेर्पाले आफ्नो पछिल्लो कीर्तिमान तोड्दै नयाँ विश्व कीर्तिमान कायम गरेका थिए। 

  • वैशाख महिनामा नेपालमा कोरोनाको सङ्क्रमणको दर संसारकै उच्च भएको थियो।  

  • तत्कालीन प्रधानमन्त्री के पी ओलीले संसद्मा विश्वासको मत पाउन असफल भएपछि उनी स्वतः पदमुक्त भएका थिए। तर प्रतिनिधिसभाको सबैभन्दा ठुलो दल एमालेका नेताको हैसियतमा ओली फेरि कामचलाउ प्रधानमन्त्री बनेका थिए।  

संवाददाता सेवा भट्टराईबाट पूरा रिपोर्ट यहाँ सुन्नुहोस्: नेपाल: वि.स. २०७८ को वैशाखदेखि चैत्रसम्म फर्केर हेर्दा हाम्रा थप अडियो प्रस्तुतिहरू पोडकास्टका रूपमा उपलब्ध छन्। यो नि:शुल्क सेवा प्रयोग गर्न तपाईंले आफ्नो नाम दर्ता गर्नु पर्दैन। पोडकास्टमा सामाग्री उपलब्ध हुनासाथ सुन्न यहाँ थिच्नुहोस्।

जेठ

  • जेठ महिनामा प्रधानमन्त्री ओलीले फेरी शपथग्रहण गर्ने क्रममा केही शब्द छुटाएपछि आलोचित बनेका थिए। यस घटनाको विरोधमा सर्वोच्च अदालतमा १२ वटा रिट दर्ता भएका थिए र सामाजिक सञ्जाल र कार्टुनहरूमा यस विषयले व्यङ्ग्यात्मक चर्चा पाएको थिए। केहीले प्रधानमन्त्रीको शपथ असंवैधानिक भएको भन्दै फेरि शपथ गर्न समेत माग गरेका थिए। 



  • बजेट भाषणका क्रममा अर्थमन्त्री विष्णु पौडेलले ढुङ्गा, गिट्टी लगायतका वस्तु निकासी गर्न अनुमति दिएपछि त्यसको धेरै विरोध भएको थियो, र सर्वोच्च अदालतले यो व्यवस्था कार्यान्वयन नगर्न अन्तरिम आदेश दिएको थियो। 

  • अक्सिजन सिलिन्डरको चरम अभाव पुरा गर्नका लागि नेपाल सरकारले निजी क्षेत्रसँग मिलेर सिलिन्डर आपूर्ति गरेको थियो। 

असार

  • असार महिनामा नेपालमा लगातार भारी वर्षा र बाढी पहिरोले ठुलो क्षति गरेको थियो र ३० जना भन्दा बढीको मृत्यु भएको थियो।  



  • असार महिनामा जातीय भेदभावको धेरै विरोध भएको थियो। सञ्चारकर्मी रुपा सुनारले जातको आधारमा कोठा भाडामा नदिएको भन्दै घरपेटी विरुद्ध मुद्दा दर्ता गरेकी थिइन्, र आरोपितलाई हिरासतबाट छुटाउन शिक्षा मन्त्री आफैँ पुगेपछि यो घटनाले विकराल रूप लिएको थियो।  

  • यही महिनामा सर्वोच्च अदालतले प्रधानमन्त्री केपी ओलीले गरेको संसद विघटनका विरुद्धमा परेका रिटमा फैसला गर्दै त्यो विघटनलाई बदर गरेर शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउने परमादेश दिएको थियो। संसदमा १६५ सांसदको विश्वासको मत पाएपछि देउवाले भने, "मेरो नेतृत्वमा मन्त्रीपरिषद् गठन भएको छ। भविष्यमा पनि सबैको साथ सहयोगको अपेक्षा गर्दछु"।  

श्रावण

  • श्रावण महिनामा ओलम्पिकमा नेपालकी कान्छी पौडीबाज गौरिका सिंहले नयाँ राष्ट्रिय कीर्तिमान कायम गरेकी थिइन्।  



  • फेरी पनि मेलम्चीमा आएको बाढीले त्यो क्षेत्रमा थुप्रै क्षति पुराएको थियो र काठमाडौँ  उपत्यकाको खानेपानी आयोजना पनि ध्वस्त पारेको थियो। 

  • श्रावणमा प्रज्ञा प्रतिष्ठानले सङ्ग्रहालय बनाउने निहुँमा महाकवि लक्ष्मीप्रसाद देवकोटाको घर भत्काएपछि त्यसको धेरै विरोध भएको थियो। देवकोटाकी छोरी अम्बिका रिमाल भन्छिन्, "एकेडेमीमा सबै बुद्धिजीवी व्यक्तिहरू बस्नुहुन्छ। वहाँहरूको तजबिजमा राम्रै गर्नुहुन्छ भन्ने आशामा छु।" 

भदौ

  • भदौमा नेकपा एमालेबाट निष्कासित वरिष्ठ नेता माधव कुमार नेपाल र झलनाथ खनालले नयाँ पार्टी दर्ता गराएका थिए। माधव नेपाल भन्छन्, “यो पार्टीलाई विभाजनको दिशा तर्फ लिएर जानको लागि, यसै पार्टीका अध्यक्ष केपी ओली लागि पर्नुभएको छ। वहाँ अहङ्कारको घोडामा सवार हुनुभएको छ।” 



  • त्यही महिनामा अफगानिस्तानमा तालिबानको नियन्त्रण स्थापना भएसँगै त्यहाँ रहेका सयौँ नेपालीहरूको उद्धार गरेर स्वदेश फिर्ता ल्याइएको थियो।  

  • भदौमा मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी)का सम्बन्धमा अमेरिकी सरकारको धारणा स्पष्ट पार्न एमसीसीका उपाध्यक्ष फातिमा सुमारको टोली नेपाल आएको थियो। अमेरिकी सरकारले हालसम्मकै ठुलो आर्थिक सहयोग प्रस्ताव गरेको एमसीसी संसदले पारित गर्नुपर्ने हुनाले अड्किरहेको थियो।  

असोज

  • असोज महिनामा नारायणहिटी दरबार सङ्ग्रहालयबाट नेपालका पूर्व राजाहरूको श्रीपेच चोरी गर्ने प्रयास भएको थियो। खेमबहादुर घर्तीले खुकुरीले सिसाको शोकेस फुटालेर श्रीपेच निकाल्न खोजेपछि उनलाई सुरक्षाकर्मीले हिरासतमा लिएका थिए।  

  • असोज महिनामा महिलाका मुद्दामा काम गर्ने केही समूहले स्यानिटरी प्याडको मूल्यमा लगाइएको करको विरोधमा माइतीघरमा प्रदर्शन गरेका थिए। 'रातो कर माफ गर' भन्दै महिलाहरू झन्डै १ घण्टासम्म सडकमा लम्पसार परेर बसेका थिए। एक जना प्रदर्शनकारी भन्छिन्, "यो स्यानिटरी प्याडहरू महिलाको लागि आधारभूत आवश्यकता हो। यसलाई सरकारले कर लगाएको हुनाले हामी सबै त्यसको विरोध गर्न आएका हौँ"। 



  • त्यही महिनामा नेपालगञ्जमा दुई जना महिलाको शङ्कास्पद अवस्थामा मृत्यु भएपछि केही अभियानकर्ताहरू त्यसको विरोध गर्नका लाग पैदल हिँडेर काठमाडौँ पुगेका थिए।  

कार्तिक

  • वर्षको उत्तरार्द्धमा फेरी पनि भारी वर्षाका कारण नेपाल जलमग्न भएको थियो। बेमौसमी वर्षाका कारण १०० जना भन्दा बढीको ज्यान जानुका साथै पाक्न लागेको धान बाली पनि विनाश गरेको थियो।  

  • नेपालको न्यायपालिकाको सङ्कट कार्तिक महिनामा चर्किएको थियो। बार एसोसिएसन र सर्वोच्च अदालतका अन्य न्यायाधीशले प्रधान न्यायाधीश चोलेन्द्र शमशेर जबराको राजीनामा माग गर्दै आन्दोलन गरेका थिए। तर राणा राजीनामा नदिनेमा अडिग थिए। "म विधि र प्रक्रियाबाट आएको हुँ, म विधि र प्रक्रियाबाट जान तयार छु। तर कसैको दबाब नारा जुलुस भनेको अराजकता हो, गैर कानुनी र गैर संवैधानिक हो।" 

  • कार्तिकमा नेपालले पहिलो पटक भारतमा विद्युत् निर्यात गर्ने अनुमति पाएपछि बढी भएको विद्युत् बेच्न थालेको थियो।  

मंसिर

  • मंसिर महिनामा नेपालको बाह्रौँ जनगणना सम्पन्न गरिएको थियो। पचास हजार मानिस परिचालन गरेर करिब दुई हप्तामा यो गणना सकिएको थियो।  
  • मंसिर मै राहदानी विभागले १०२ वर्षीय सँस्कृतिविद सत्यमोहन जोशीलाई पहिलो विद्युतीय राहदानी दिएको थियो। विभागका महानिर्देशक डोरनाथ अर्यालले भने, "हामी यसलाई तेस्रो पुस्ताको राहदानी भन्छौँ। पहिलो पुस्ताको हस्तलिखित, दोस्रो पुस्ताको मसिन रिडेबल र यो तेस्रो पुस्ताको जसमा इलेक्ट्रोनिक चिप हुन्छ।" 
  • मंसिर महिनामा नेपालका तीन ठुला राजनीतिक दलको महाधिवेशन भएर नयाँ नेतृत्व चुनाव भएको थियो। नेपाल काँग्रेसमा शेरबहादुर देउवा र नेकपा एमालेमा केपी ओलीको नेतृत्व दोहोरिएको थियो भने राप्रपाले नयाँ अध्यक्ष राजेन्द्र लिङ्देन चुनेको थियो।  

पुष

  • नेपालमा १७० वर्षअघि अभिलेख गरिएको र त्यसपछि नदेखिएको हङ्रायो चरा पुष महिनामा फेरि देखिएको थियो। रुफस नेक्ड हर्नबिल भनिने हङ्रायोको फोटो देवेन्द्र खरेलले ईलाममा खिचेका थिए। 
  • भूतपूर्व राजपरिवारको निवास नारायणहिटीमा क्याफेटेरिया सञ्चालन गर्नका लागि निकै कम भाउमा बतास समूह अन्तर्गतको एक कम्पनीले लिजमा लिएर त्यहाँ पक्की संरचना बनाउन थालेपछि त्यसको निकै विरोध भएको थियो। त्यो काम रोक्न निर्देशन दिँदै पर्यटन मन्त्री प्रेम आलेले भने, "चाहे मन्त्री स्तरबाट होस्, चाहे क्याबिनेटबाट, यो चाहिँ हामी हटाएरै छोड्छौँ।" 
  • यसै महिना ब्याडमिन्टन खेलाडी प्रिन्स दाहालले जुनियर विश्व ब्याडमिन्टन वरीयताको पहिलो नम्बरमा पुग्ने पहिलो नेपाली भएर इतिहास रचेका थिए।  

फागुन

  • फागुनमा कोरोनाको यो तेस्रो लहरको सङ्क्रमण निकै कम भएको थियो।  



  • झन्डै ३२ महिना संसदमा अड्किएपछि फागुनमा नेपालको प्रतिनिधिसभाले एमसीसी पारित गरेको थियो। सभामुख अग्नि सापकोटा भन्छन्, "मिलेनियम च्यालेञ्ज कम्प्याक्टका साथै प्रतिनिधिसभाबाट उक्त सम्झौतामाथिको प्रस्तावित व्याख्यात्मक घोषणालाई अनुमोदन गरियोस् भन्ने प्रस्ताव पारित गरिएको घोषणा गर्दछु।" मिलेनियम च्यालेञ्च कर्पोरेसन अर्थात् अमेरिकाले नेपाललाई दिएको हालसम्मकै ठुलो आर्थिक सहयोग मुख्यतः विद्युत् प्रसारण लाइन बनाउनमा खर्च गरिनेछ। ५० अर्ब रुपैयाँ भन्दा बढीको यो सहयोगलाई नेपालमा थुप्रैले विरोध गरेका थिए।  

चैत्र

  • चैत्र महिनामा चिनियाँ विदेश मन्त्री वाङ यी तीन दिने भ्रमणका लागि नेपाल आएका थिए, जसका क्रममा नेपाल र चीनले विभिन्न आर्थिक र प्राविधिक परियोजनाका सन्धिहरूमा हस्ताक्षर गरेका छन्।  

  • आगामी स्थानीय निकायको निर्वाचनमा उम्मेदवारी दिनका लागि बहालवाला जनप्रतिनिधिले राजीनामा दिनुपर्ने नियम विवादमा परेको छ।  

  • र, वर्षको अन्तिममा गायक प्रकाश सपुतको गीत पीर र त्यसको भिडियो विवादमा परेका छन्। गीतमा माओवादी जनयुद्धमा भाग लिएका मानिस आर्थिक सङ्घर्ष गरिरहेका, विदेश पलायन भएका, र देहव्यापारमा लागेका देखाइएको छ। माओवादी विद्यार्थी संगठन अनेरास्ववियु क्रान्तिकारीले गीतलाई सामाजिक सञ्जालबाट हटाउने धम्की दिएपछि थुप्रै सर्जक र दर्शक गीतको पक्षमा उभिएका छन्।  


Share