जबकीपरमा ठगी गरेको भन्दै अस्ट्रेलियाली कर कार्यालयमा हजारौं बिरुद्ध उजुरी

जबकीपर भुक्तानी बारे थुप्रै मानिसहरूले ठगी गरिरहेको उजुरी कर कार्यालयलाई दिँदा पनि हालसम्म कुनै कारबाही नभएको बताइएको छ।

How to handle your finance after the end of jobseeker and JobKeeper

Source: AAP

जबकीपर भुक्तानी योजनामा ६ हजार भन्दा बढी व्यापार तथा एकल व्यवसायीहरूले ठगी गरेको भन्दै करिब ८ हजार जनाले अस्ट्रेलियाली कर कार्यालय (एटीओ) समक्ष उजुरी दिए पनि हालसम्म त्यस बारे कोही पनि दण्डित नभएको गुनासो बाहिर आउन थालेको हो।

कोरोनाभाइरस महामारी सुरु भए पछि योग्यता पुगेका कामदारलाई काम नहुँदा पनि पाक्षिक रूपमा सामाजिक भत्ता पाउने व्यवस्था गत मार्च महिनाको अन्त्यदेख‌ि मोरिसन सरकारद्वारा लागू गरिएको थियो।
आफ्ना कुनै एक रोजगारदाताबाट (एकभन्दा बढी ठाउँमा काम गर्ने भए) मात्रै जबकीपर बापतको रकम बुझ्न पाइने भएता पनि कम्तीमा पनि २,२०० कामदारहरूले दुई वा सो भन्दा पनि बढी रोजगारदाताहरू मार्फत उक्त भुक्तानी बुझिरहेको बताइएको छ।

जानेर नै ठगेको भेटिएमा रोजगारदाताहरूको हकमा १० वर्षसम्मको जेल सजाय वा १२६,००० डलर सम्मको जरिवाना हुन‍सक्ने प्रावधान छ।

अस्ट्रेलियन ट्याक्सेसन अफिस वा एटीओले जारी गरेको आँकडा अनुसार जबकीपरका लागी दर्ता भएका मध्ये झन्डै-झन्डै १५,००० व्यापार-व्यवसाय सो भुक्तानी योजनाका लागि योग्य छैनन्।

योसँगै एटीओले अयोग्य ठहर भएका हजारौँ व्यवसायहरूलाई जबकीपर बापतको भुक्तानी फिर्ता गर्न भने पनि उनीहरूलाई अहिलेसम्म कुनै आर्थिक दण्ड दिइएको भने छैन र हाल एक आर्थिक अपराध टास्क फोर्सले यस किसिमका ठगी सम्बन्धी मामिलाहरू माथि छानबिन गरिरहेको छ।
सङ्घीय ट्रेजरर जोस फ्राइडेनबर्ग भन्छन् कि जबकीपर बारे नियमन गर्ने काम कर कार्यालयको हो।

"थुप्रै व्यापार-व्यवसाय तथा कामदारहरूले गरिरहनुभएको सही कामलाई हामी सह्राना गरेता पनि एटीओसँग कारबाही अगाडि बढाउन थुप्रै दण्ड दिन सक्ने अधिकार छ जुन उनीहरूले अरू बेला प्रयोग गर्ने कर सम्बन्धी कानूनसँग मिल्दोजुल्दो नै छन्," उनले भने।
Treasurer Josh Frydenberg speaks to the media during an announcement in Melbourne, Friday, July 31, 2020. (AAP Image/Daniel Pockett) NO ARCHIVING
Australian Treasurer Josh Frydenberg says the enforcement of JobKeeper breaches is a matter for the ATO. Source: AAP
तर लेबर भने जबकीपर भुक्तानी योजनामा देखा परेका ठगहरूलाई दण्ड गर्ने काम स्वयम् ट्रेजरर फ्राइडेनबर्गको नै हुनुपर्ने बताउँछ।

"मानिसहरूलाई काममा राखिराख्न हामीले जबकीपर माथि धेरै नै भर परिरहेका छौँ," छाया ट्रेजरर तथा विपक्षी लेबरका एक जना शिर्षथ नेता जिम चामर्सले भने।

चामर्सले जबकीपर योजनाले राम्रोसँग काम गरिरहेको बारे निश्चित गर्न र लगानी अनुरूपको प्रतिफल प्राप्त गर्न पनि सही नियमन हुनुपर्नेमा जोड दिए।

जबकीपर सम्बन्धी सबैभन्दा धेरै सुराकीहरुमा रोजगारदाताले जबकीपर भुक्तानी बापतको पुरै रकम (१,५०० डलर कर कट्टा हुनु अघि) नदिएको, व्यवसायहरू जबकीपरका लागि योग्य नभएको र कामदारको जबकीपरका लागि योग्यता जस्ता विषयहरू परेका छन्।
अस्ट्रेलियाली कर कार्यालयकी एक प्रवक्ताका अनुसार जबकीपर बापत हुनुपर्ने भुक्तानी भन्दा बढी रकम वितरण भएको भए र एटीओले त्यसो हुनुमा कुनै छलकपट वा ठगीको नियत नदेखेमा सो अतिरिक्त रकम फिर्ता गर्नुपर्ने छैन।

तर, नियतवश नै ठगी गरेको देखिएको खण्डमा भने एटीओले बढी भुक्तानी भएको रकम फिर्ता लिनुका साथै जरिवाना पनि गर्न सक्ने ती प्रवक्ताले बताइन्। 

अस्ट्रेलियामा मानिसहरू घर बाहिर हिँड्दा, अरू मानिसहरूबाट कम्तीमा १.५ मिटर टाढा रहनुपर्दछ। भेला हुने सङ्ख्या बारे तपाईँको राज्य वा प्रदेशमा हाल कायम व्यवस्था बारे जान्न थप जानकारी  उपलब्ध छ।

मेलबर्न महानगरीय क्षेत्रमा हाल चौथो चरणको प्रतिबन्ध लागू छ र त्यहाँका बासिन्दाहरूले प्रत्येक दिन बेलुकी ९ बजेदेखि भोलिपल्ट बिहान ५ बजेसम्म कर्फ्यु आदेशको पालना गरेर घरबाट निस्कन हुँदैन।  

कोरोनाभाइरसद्वारा सङ्क्रमित भएको आशङ्का लागेमा मानिसहरूले सर्वप्रथम आफ्नो डाक्टर (जीपी)लाई वा राष्ट्रिय कोरोनाभाइरस स्वास्थ्य जानकारी हटलाइन - १८०० ०२० ०८० मा फोन गर्नुपर्छ।

यदि तपाईँलाई सास फेर्न गाह्रो महसुस भयो वा आपतकालिन स्वास्थ्य समस्या उत्पन्न भएको खण्डमा ००० (ट्रिपल जिरो)मा कल गर्नुहोस्।


Share
Published 16 September 2020 12:59pm
Updated 20 September 2020 11:37am
Source: AAP, SBS


Share this with family and friends