ट्याक्स कट्‌देखि बढी तलबसम्म: १ जुलाईदेखि लागू भएका परिवर्तनहरू

नयाँ आर्थिक वर्षको साथमा आउने परिवर्तनहरूले विद्युत् महसुलमा छुट, न्यूनतम ज्यालामा वृद्धि, र सेन्टर लिङ्क भुक्तानीहरूमा थोरै वृद्धिको साथ जीवनयापन लागतमा केही राहत प्रदान गर्दै छ।

A composite image of an Australian passport, cash notes, the Centrelink logo, a calendar reading 'July 1' and a document with a dollar sign on it.

New tax cuts, aimed at "middle Australia" and those facing cost of living pressures, were approved by federal parliament earlier this year Source: SBS

अस्ट्रेलियनहरूले करमा कटौतीका साथै दशौँ लाख कामदारहरूले न्यूनतम ज्यालामा वृद्धि भएको पाउने छन्।

सोमवार, १ जुलाईदेखि नयाँ आर्थिक वर्ष सुरू भएसँगै यी परिवर्तनहरू लागू भएका हुन्।

अस्ट्रेलियाका बासिन्दाहरूले विद्युत् महसुलमा राहत दिने सङ्घीय बजेटको घोषणाको प्रभाव आफ्नो त्रैमासिक बिलहरूमा देख्न थाल्ने छन्।

विद्युत् महसुलमा राहत

गत मे महिनामा आएको सङ्घीय बजेट अन्तर्गत एक करोड भन्दा बढी परिवारले प्रत्येक तीन महिनामा आउने बिलमा ७५ डलरको 'क्रेडिट' पाउने छन्।

यसको अर्थ परिवारले नगद नपाए पनि प्रत्येक तीन महिनाको विद्युत् महसुलमा स्वतः ७५ डलर घटेर आउनेछ।

त्यस्तै साना व्यवसायहरूको हकमा वार्षिक ३२५ डलर क्रेडिट प्रदान गरिने छ।
क्वीन्सल्यान्ड र टास्मेनियाका बासिन्दाले भने एक जुलाईमा थप राहत पाउँदै छन्।

त्यहाँका राज्य सरकारहरूले विद्युत् बिलमा राहत दिन क्वीन्सल्यान्डमा १,००० डलर र टास्मेनियामा २५० डलर दिने भएको हो।

पारिश्रमिकमा वृद्धि

अस्ट्रेलियामा न्यूनतम तलबमा रहेका कामदारहरूले जुलाईको सुरुवातबाट आफ्नो पारिश्रमिकमा ३.७५ प्रतिशतको वृद्धि पाउने छन्।
कार्यस्थल सम्बन्धि उच्च निकाय फेयर वर्क कमिसनले जुन महिनाको सुरुवातमा आफ्नो वार्षिक ज्याला सम्बन्धी निर्णय लिएपछि यसबाट दशौँ लाख लाभान्वित हुने भएका हुन्।

यसअन्तर्गत राष्ट्रिय न्यूनतम पारिश्रमिक ८८२.८० डलरबाट बढेर हप्ताको ९१५.९० डलर भएको छ।

यसको अर्थ पहिले २३.३३ डलर पाउने गरेकोमा कामदारहरूले अब न्यूनतम घण्टाको २४.१० डलर प्राप्त गर्नेछन्।

सङ्घीय राजनीतिज्ञहरूको पनि तलबमा वृद्धि भएको छ, जस अन्तर्गत संसद् सदस्यहरूको तलबमा ३.५ प्रतिशतको वृद्धि हुने भएको हो।

सांसदको तलबमा झन्डै वार्षिक ८,००० डलरको वृद्धि सँगै आधारभूत तलब २२५,७५० डलरबाट बढेर २३३,६५० डलर पुगेको छ।

विपक्षी नेता पिटर डटनको तलबमा झन्डै १५,००० डलरको वृद्धि हुँदै ४३२,२६० पुगेको छ भने प्रधानमन्त्री एन्थोनी आल्बनिजीले ६०७,४९० डलरका साथ पहिलेको ५८६,९५० मा २०,००० डलर थप घर लिएर जानेछन्।

लाखौँलाई समेट्ने कर कटौती

सम्पूर्ण अस्ट्रेलियन परिवारहरूले २,००० डलरभन्दा बढी, वा प्रति हप्ता ४० डलरभन्दा बढीको औसत कर कटौती प्राप्त गर्नेछन्।
How the stage 3 tax cut affect you?
How does the stage 3 tax cut affect you? Source: SBS
"मध्य अस्ट्रेलिया" वा मध्यम स्तरीय अस्ट्रेलियनहरूका साथै जीवन लागतको दबाब सामना गर्नेहरूलाई लक्षित गर्दै यस वर्षको सुरुमा सङ्घीय संसद्ले नयाँ कर कटौती अनुमोदन गरेको थियो।

यो एकमुष्ट भुक्तानीको रूपमा आउँदैन। यसको सट्टा, करदाताहरूले निरन्तर रूपमा उनीहरूको पारिश्रमिकमा यसको प्रभाव देख्ने छन्।

विज्ञहरूका अनुसार वार्षिक ६०,००० डलर कमाउनेहरूको खल्तीमा साप्ताहिक आम्दानीमा थप २३ डलर पर्ने छ।

त्यस्तै १२०,००० डलर कमाइ भएकाले हप्तामा थप ५२ डलर घर लिएर जानेछन्।

एक परिवारमा कमाउने दुई पार्टनर मध्ये एक जनाको ८०,००० र अर्कोको ५०,००० डलर कमाइ छ भने दुवैलाई जोडेर १३०,००० डलर पुग्दा हप्तामा ५० डलर प्राप्त गर्नेछन्।

तपाईँको कमाइमा भएको वृद्धि गणना गर्न, तलको हाम्रो अन्तरक्रियात्मक उपकरण प्रयोग गर्नुहोस्।

सुपरएन्नुएसन

तपाईँले आफ्नो 'पेस्लिप'मा देख्नुहुने अर्को परिवर्तन सुपरएन्नुएसनको रूपमा आउने छ।

कामदारहरूले आफ्नो अवकाश बचतमा रोजगारदाताले कामदारको कमाइको निश्चित प्रतिशत सुपरमा तिर्नै पर्ने व्यवस्था वा सुपरएन्नुएसन ग्यारेन्टी दर ११ प्रतिशतबाट बढेर ११.५ प्रतिशत पुग्दा थप रकम प्राप्त गर्नेछन्।

सेन्टरलिङ्क भुक्तानी

उमेर र असक्षमता समर्थनको पेन्सनमा रहेका अस्ट्रेलियनहरूका साथै स्याहारकर्ता भुक्तानी, अभिभावकहरूका लागि रहेको 'पेरेन्टल' तथा पारिवारिक 'फ्यामिली ट्याक्स बेनिफिट'को भुक्तानीमा रहेकाहरूले सेन्टरलिङ्कबाट पाउने रकम बढ्ने भएको छ।

नयाँ दर सहित भुक्तानीका प्रकारहरूको सूची उपलब्ध छ।

पासपोर्ट

पासपोर्टको लागत यस वर्षको जनवरीमा ३४६ डलरबाट बढेर एक जुलाईदेखि ३९८ डलर पुग्ने छ।

तत्कालै पासपोर्ट चाहिने यात्रुहरूले यात्रा सम्बन्धी कागजातहरू द्रुत गतिमा प्राप्त गर्न सक्ने व्यवस्था रहेको छ।

सरकारले पाँच काम गर्ने दिनहरूमा (सोमवारदेखि शुक्रवारसम्म) पासपोर्ट बनाउन सकिने गरी नयाँ 'फास्ट-ट्र्याक' कार्यक्रम ल्याउने भएको छ ।

यसको लागि नियमित पासपोर्ट बनाउन लाग्ने रकममा थप १०० डलर तिर्नु पर्ने छ।

विद्यार्थी भिसा सुधार

अस्ट्रेलिया सरकारले आप्रवासीहरूलाई 'भिसा हपिङ' भनिने यहाँको बसाइ लम्ब्याउन एउटा भिसाबाट अर्को भिसामा परिवर्तन गर्ने कार्यलाई थप गाह्रो बनाउँदै छ।

भिजिटर भिसा र टेम्पररी ग्र्याजुएट भिसा धारकहरूले अस्ट्रेलियामा नै बसेर विद्यार्थी भिसाका लागि आवेदन दिन सक्ने छैनन्।

त्यस्तै, अन्तर्राष्ट्रिय विद्यार्थी भिसा शुल्क बढेर ७१० डलरबाट १,६०० डलर पुगेको छ।

'इन्जिनियर्ड स्टोन' माथि प्रतिबन्ध

जुलाई एकदेखि अस्ट्रेलिया भर 'इन्जिनियर्ड स्टोन' माथि प्रतिबन्ध लगाइएको छ। यो विश्वमै पहिलो पटक लागु भएको प्रतिबन्ध हो।

'इन्जिनियर्ड स्टोन'भनेर चिनिने यी मानव निर्मित ढुङ्गाहरूमा ठुलो मात्रामा 'सिलिका' नामक तत्त्व हुन्छ, जुन कामदारहरूको स्वास्थ्यको लागि निकै हानिकारक रहेको बताइएको छ ।

Share
Published 1 July 2024 6:29pm
Updated 9 July 2024 11:41am
By Rashida Yosufzai
Source: SBS


Share this with family and friends